परीक्षा अनियमितताका आरोपित त्रिविका पूर्वकर्मचारी रामबहादुर पाण्डेद्धारा आत्महत्या

साउन ३, काठमाडौं—  त्रिभुवन विश्व विद्यालयका पूर्वकर्मचारी रामबहादुर पाण्डेले आत्महत्या गरेका छन् ।

कानुन व्यवसायीसँग छलफल गरेर फर्किने क्रममा बिहिबार दिउँसो त्रिपुरेश्वरको राधा भवनको पाचौं तल्लाबाट हाम फालेर आत्महत्या गरेको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले ईमेल खबरलाई बताए ।

कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको परीक्षणमा अनियमितता आरोप लागेका रामबहादुर पाण्डे क्षेत्री विरुद्ध एक वर्ष जेल सजाय माग दाबी गर्दै अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । अख्तियारले दुई साताअघि पाण्डे सहित १० जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

पछिल्लो समय कीर्तिपुर बस्दै आएका पाण्डे लमजुङका हुन् । उनी प्रेसर र डिप्रेसनको समेत रोगी भएको परिवारलाई प्रहरीले जनाएको छ ।

शुक्रबार पाण्डेको शवलाई पोस्टमार्टम गरि परिवारलाई बुझाएको प्रहरीले बताएको छ ।