‘प्रतिबन्धबाट बच्नका लागि मेस्सीले माफी माग्नै पर्छ’

साउन १ — अर्जे्न्टिनाको खेलकुद अदालत कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्सका सदस्य गुस्टाभो अब्रेउले राष्ट्रिय टोलीका कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सीले आफ्नो अभिव्यक्तिप्रति माफी माग्नु पर्ने बताएका छन् ।

हालै ब्राजिलमा सम्पन्न ४६औं संस्करणको कोपा अमेरिका कपअन्तर्गतको तेस्रो स्थानको खेल सकिएपछि मेस्सीले विवादास्पद अभिव्यक्ति दिएका थिए । चिलीसँगको खेलको बीचैमा झगडा गरेपछि रातो कार्ड खाँदै मैदान बाहिरिएका उनले खेलपश्चात मिडियासँगको कुराकानीमा कडा अभिव्यक्ति दिए । उनले कोपा अमेरिका भ्रष्ट संस्था भएको र ब्राजिलले कोपा जिताउन सेटिङ मिलाएको भन्दै खरो अभिव्यक्ति दिएका थिए ।

त्यतिमात्र नभएर उनले तेस्रो स्थानको मेडल लिन पनि अस्वीकार गरेका थिए । मेस्सीको टोली अर्जे्न्टिनाले साबिकको विजेता टोली चिलीलाई हराउँदै कोपा अमेरिकाको तेस्रो स्थानको मेडल जितेको थियो । त्यसअघि पनि मेस्सी सेमिफाइनलको खेलमा रेफ्रीविरुद्ध खरो खनिएका थिए । ब्राजिलसँग हारेको खेलमा कप्तान मेस्सीले रेफ्रीले पक्षपाति निर्णय गरेको आरोप लगाउँदै रेफ्रीविरुद्ध खनिएका थिए । सो आरोपछि कन्मेबोलले मेस्सीलाई कारबाही गरिने बताउँदै आएको थियो ।

मेस्सीको सो अभिव्यक्तिप्रति खेलाडी, प्रशिक्षक तथा विश्लेषकहरू आ–आफ्नै तरिकाको टीका–टिप्पणी दिइरहेका छन् । कसैले यस विषयको समर्थन गरेका छन् भने कसैले मेस्सीले हारको पीडा पोखेको भनी व्यङ्ग्य पनि गरेका छन् । यस्तैमा अर्जे्न्टिनाको खेलकुद अदालत कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्सका सदस्य गुस्टाभो अब्रेउले भने मेस्सीले उनको अभिव्यक्तिका कारण माफी माग्नुपर्ने बताएका छन् ।

उनले सोमबार अक्टुबरे रेडियोसँगको कुराकानीमा भनेका छन्, ‘मेस्सीले कोपा अमेरिकामा देखाएको व्यवहारप्रति माफी माग्नुपर्छ । अन्यथा, उनलाई उक्त आरोपका लागि कारबाही गरिनेछ । म मेस्सीलाई सुझाव दिन्छु कि उनले माफी मागुन् । अन्यथा उनीहरूले मेस्सीलाई कारबाही गर्नेछन् । उनले माफी मागेमा उनीहरूले कुनै कारबाही प्रक्रिया अगाडि बढाउने छैनन् ।’

अब्रेउले अर्जे्न्टिनी फुटबल एशोसियसन (एएफए) लाई मेस्सीसँग सम्पर्क गरी माफी मगाउन पनि सुझाव दिएका छन् । उनले भनेका छन्, ‘अर्जे्न्टिनी फुटबल एशोसियसनले पनि मेस्सीलाई सम्पर्क गरी माफी माग्नका लागि भनोस्, म उनीहरूलाई सुझाव दिन्छु । यदि, मेस्सीले माफी मागेमा उनी प्रतिबन्धबाट बच्नेछन् । प्रतिबन्धबाटै बच्नका लागि पनि मेस्सीले माफी माग्नैपर्छ ।’

कोपा अमेरिकाको उपाधि आयोजक राष्ट्र ब्राजिलले जितेको थियो । उसले पेरुलाई हराउँदै उपाधि जितेको हो ।

एजेन्सी