घरायसी विवादमा बुहारीले गरिन सासूको हत्या

साउन १, काठमाडौं — काभ्रेको धुलिखेल नगरपालिका–१ देवीटारमा गए राति बुहारीद्वारा वृद्ध सासूको हत्या भएको छ ।

राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासु माइलीमाया तामाङको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।

माइलीमाया र सुन्तली सासू बुहारी हुन् । माइलीमायाको टाउको र पेटमा गम्भीर चोट लागेको थियो । उनको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा राति १ बजे मृत्यु भएको प्रहरीले बताएको छ ।

मादक पदार्थ सेवन गरेकी सासूसँग झगडा गरी हत्या गरेकी सुन्तलीलाई घटनालगत्तै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । साथै उनका श्रीमान ३५ वर्षीय धावा तामाङलाई नियन्त्रणमा लिएको छ ।रासस