असार २९, काठमाडौं — आज राति यस वर्षको दोस्रो चन्द्रग्रहण लाग्दैछ । यो आशिंक चन्द्रग्रहण हो । यो चन्द्रग्रहण राति १ बजेर ४६ मिनेटदेखिे शुरु भएर बिहान ४ बजेर ४५ मिनेटमा सम्म रहने वास्तु ज्योतिष शिव पोखरेलले ईमेल खबरलाई बताए ।
वास्तु ज्योतिष शिव पोखरेलका अनुसार आज आषाढ शुक्ल गुरू पूर्णिंमाको दिन, उत्तराषाढा नक्षत्र, धनु राशिमा राति १ बजेर ४६ मिनेटदेखि प्रारम्भ भएर राति ३ बजेर १५ मिनेटमा मकर राशिको प्रारम्भमा मध्य भई बिहान ४ बजेर ४५ मिनेटमा मकर राशिमै मोक्ष हुने गरी खण्डग्रास चन्द्र ग्रहण लाग्ने छ । ग्रहण लाग्ने पूरा समय २ घन्टा ५९ मिनेट छ । तर नासाको वेबसाइटमा भने २ घन्टा ५८ मिनेट जनाइएको छ ।
राहु ग्रहणको कारण नभएर ग्रहण योग्य औंसी वा पूर्णिमालाई चिन्ने उपकरण भएको पोखरेलले बताए । यो ग्रहण ब्रह्मा पर्वमा परेकोे छ ।
आजको चन्द्रग्रहणलाई वैज्ञानिकले हाल्फ ब्लड थन्डर मून इक्लिप्स नाम दिएका छन् । यसको आकार रातो देखिने भएकोले यसलाई यस्तो नाम दिइएको हो ।
चन्द्रमाको आकार पनि अन्य दिनको तुलनामा निकै ठूलो देखिन्छ । खगोल विज्ञानमा चासो राख्ने मानिसका लागि यो निकै मनोरम दृश्य हुनेछ । यो ग्रहण नेपाल, भारत, अष्ट्रेलिया, अफ्रिका, दक्षिण अमेरिका, एसिया र युरोपको अधिकांश हिस्सामा देखिनेछ ।
विज्ञानका अनुसार चन्द्रमा, पृथ्वी र सूर्य एकआपसमा सीधा रेखामा भएको खण्डमा ग्रहण लाग्छ । यदि सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आएको खण्डमा त्यसको छायाँ चन्द्रमामा पर्छ र चन्द्रमा देखिँदैन । यो अवस्थालाई चन्द्रग्रहण भनिन्छ ।
सन् २०१९ को पहिलो चन्द्रग्रहण जनवरी २० र २१ को बीचको राति लागेको थियो । यो खग्रास चन्द्रग्रहण थियो । यो चन्द्रग्रहण नेपालबाट भने देखिएको थिएन ।