असार ३१,काठमाडौँ — आज आषाढ शुक्ल पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति आदर र सम्मान भाव प्रकट गरी आराधना गर्दै गुरुपूर्णिमा पर्व मनाइँदैछ ।
‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ । हाम्रो संस्कृतिमा गुरुको स्थान उच्च मानिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।
जीवनको सत्य र ज्ञानको आमुल्य शिक्षा दिने ति गुरुहरुलाई श्रद्धा र भक्ति सहित मिठाइ प्रसाद, लुगा कपडा आदि अर्पण गरेर आफ्नो आदर अर्पण गर्ने गर्छन् । यस्ता उपहारहरु लाई गुरु दक्षिणा पनि भनिन्छ ।
नेपाली पात्रो अनुसार अषाढ महिनाको पुर्णिमालाई गुरु पुर्णिमाको रुपमा मानिन्छ । गुरु व्यास को सम्झनामा गुरु पुर्णिमा मनाइने परम्परा शुरु भएको मानिंदै आएको बिश्वास गरिन्छ । गुरु व्यासले चार वेद, अथर पुरण, महाभारत र श्रिमद भागवत गीता पनि लेखेका हुन । उनी गुरुहरुका गुरु दतरात्रय का पनि गुरुका रुप मा मनिन्छन। गौतम बुद्धले आजकै दिन धर्मचक्र प्रवत्र्तन अर्थात् पहिलो उपदेश दिएका थिए ।
गुरुपूर्णिमाका अवसरमा आज विद्यालय एवम् विभिन्न सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दैछन् । आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यासको सम्झनामा व्यासजयन्ती पनि मनाइन्छ ।
व्यासले पुराण र उपपुराणका माध्यमबाट ‘परोपकार पुण्याय, पापाय परपीडनम्’ अर्थात् अरुको उपकार गरे धर्म हुन्छ एवम् अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएको छ ।
हिन्दू संस्कृतिमा कुनै पनि तन्त्र, साधना तथा मन्त्र सिक्नका लागि गुरु पुर्णिमाको दिनलाई अति उत्तम मानिन्छ ।