बाढीका कारण प्रदेश ३ मा सबैभन्दा बढी मुत्यु

असार ३०, काठमाडौं — अविरल वर्षासंगै आएको बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या ६५ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सोमबार बिहान ७ बजेसम्ममा २४ महिला र ४१ पुरुष गरी जम्मा ६५ जनाको मृत्यु भएको हो ।

त्यस्तै ३८ जना घाइते रहेको र ३० जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र बेपत्ता भएकाहरुको खोजि कार्य जारि रहेको कार्यालयले जनाएको छ । प्रहरीले अहिलेसम्म १ हजार ४ सय ४५ जनाको उद्धार गरेको जनाएको छ।

बाढी पहिरो सबैभन्दा बढी प्रदेश १, २, ३, ५ र ६ प्रभावित भएको छ। प्रदेश ३ मा सबैभन्दा बढी मानवीय क्षति भएको छ। प्रदेश ३ मा २३ जनाले ज्यान गुमाएका छन् भने १६ जना घाइते भएका छन्। त्यस्तै प्रदेश १ मा २० जनाले ज्यान गुमाइसकेका छन् भने १६ जना घाइते भएका छन्। प्रदेश २ मा १८ जनाले ज्यान गुमाइसकेका छन भने ५ जना घाइते छन्। प्रदेश ५ र ६ मा २र२ जनाले ज्यान गुमाएका छन्।

प्रदेश ४ र प्रदेश ७ मा कुनै मानवीय क्षति भएको छैन।