न्युजिल्याण्डलाई हराउँदै इंग्ल्याण्ड बन्यो च्याम्पियन

असार ३०, एजेन्सी — आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि इंग्ल्याण्डले जितेको छ ।
लण्डनमा आइतबार भएको रोमान्चक फाइनलमा न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्याण्डले पहिलो पटक उपाधि जितेको हो ।

लर्ड्स क्रिकेट मैदानमा न्युजिल्याण्डले दिएको २४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा अलआउट हुँदै २४१ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा इंग्ल्याण्डले १५ रन जोड्दै न्युजिल्याण्डलाई १६ रनको लक्ष्य दिएको थियो ।
सुपर ओभरमा जानुअघि इंग्ल्याण्डका बेन स्टोक्स र जोश बटलरले अर्धशतकीय इनिङ्स खेले । बटलर ५९ रनमा आउट भए । स्टोक्सले अविजित ८४ रन बनाए ।

न्युजिल्याण्डका जेम्स निशम र लकी फर्गुसनले ३र३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २४१ रन बनाएको थियो ।
न्युजिल्याण्डको लागि हेनरी निकोलसले अर्धशतकीय इनिङ्स खेले । उनले ७७ बलमा ४ चौकासहित ५५ रन बनाए ।

यस्तै टम लाथम ४७ रनमा आउट हुँदा कप्तान केन विलियम्सन ३० रनमा आउट भए । मार्टिन गुप्टिल र जेम्स निशमले १९र१९ रन जोड्दा कोलिन डी ग्रान्डहोमले १६ रन जोडे ।

इंग्ल्याण्डका क्रिस वोक्स र लियाम प्लुन्केटले समान ३र३ विकेट लिए ।