असार २९ — आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज (आइतबार) आयोजक इङ्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । लन्डनस्थित लर्डस क्रिकेट मैदानमा दिउँसो ३ः१५ बजे सुरु हुने फाइनल खेलमा दुवै टोलीको लक्ष्य उपाधि चुम्ने रहेको छ ।
विश्वकपको पहिलो संस्करणदेखि सहभागिता जनाउँदै आएको इङ्ल्यान्ड र न्युजिल्यान्ड दुवैले अहिलेसम्म उपाधि जित्न सकेका छैनन् । घरेलु मैदानमा यसपटक कुनैपनि हालतमा उपाधि जित्ने इङ्ल्यान्डको लक्ष्य छ । साविक उपविजेता न्युजिल्यान्ड पनि आयोजकलाई कडा चुनौती दिन आतुर छ ।
आयोजक इङ्ल्यान्ड लिग चरणमा तेस्रो बन्दै सेमिफाइनलमा पुगेको थियो । इङ्ल्यान्डले लिग चरणमा ६ जित र तीन हारको नतिजा निकालेको थियो । सेमिफाइनलमा भने इङ्ल्यान्डले साविक विजेता अष्ट्रेलयालाई आठ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । इङ्ल्यान्ड यो सहित चौथो पटक फाइनलमा पुगेको हो ।
यसैगरी न्युजिल्यान्डले लिग चरणका नौ खेलमा पाँच जित, तीन हार र एक अनिर्णित नतिजा निकालेको थियो । न्युजिल्यान्ड लिग चरणमा चौथो बन्दै सेमिफाइनलमा पुगेको थियो । न्युजिल्यान्डले लिग चरणमा पाकिस्तानलाई रन रेटका आधारमा पछि पार्दै सेमिफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनलमा भने न्युजिल्यान्डले बलियो टोली भारतलाई १८ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । न्युजिल्यान्डले दिएको दुई सय ४० रनको मध्यम लक्ष्य पछ्याएको भारत ४९.३ ओभरमा सबै विकेटअ गुमाएर दुई सय २१ रनमा समेटिएको थियो ।
विजेतालाई ४५ करोड
एकदिवसीय विश्वकपको विजेता टोलीले चार मिलियन अमेरिकी डलर (करिव ४५ करोड रुपैयाँ) पुरस्कार पाउनेछ । यो हालसम्मकै सर्वा्धिक पुरस्कार राशी हो । यसअघि सन् २०१५ को विश्वकप विजेता अस्ट्रेलियाले ३.९७५ मिलियन डलर पुरस्कार पाएको थियो । सन् २०११ मा भारतले विश्वकप जित्दा ३.२५ मिलियन डलर पुरस्कार पाएको थियो । यसैगरी उपविजेताले दुई मिलियन अमेरिकी डलर (करिव २२ करोड ४६ लाख रुपैयाँ) पुरस्कार पाउनेछ । सन् २०१५ उपविजेता बनेको न्युजिल्यान्डलेम १.७५ मिलियन डलर पुरस्कार पाएको थियो । विश्वकप आयोजक आईसीसीले पुरस्कार राशीका मात्र कूल १० मिलियन डलर (एक अर्ब १२ करोड २९ लाख रुपैयाँ) खर्च गरेको छ ।
सबल र दुर्बल पक्ष
क्रिकेट खेलको जन्म भएको देश हो, इङ्ल्यान्ड । इङ्ल्यान्ड यसअघि सन् १९७९, सन् १९८७ र सन् १९९२ मा गरी तीनपटक विश्वकपको फाइनलमा पराजित भएको छ । सन् १९९२ पछि इङ्ल्यान्डले यसपटक फाइनल खेल्दैछ । त्यसैले पाँचौं पटक विश्वकपको आयोजना गरिरहेको इङ्ल्यान्ड यसटक उपाधि जित्न निकै लालायित देखिएको छ । सन् १९७९ को विश्वकपमा इङ्ल्यान्डलाई वेस्ट इन्डिजले हराएको थियो भने सन् १९८७ को फाइनलमा इङ्लिस टोली अस्ट्रेलियासँग पराजित भएको थियो । सन् १९९२ को विश्वकपमा इङ्ल्यान्डलाई पाकिस्तानले हराएको थियो ।
यसैगरी न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा पुगेको हो । सन् २०१५ को विश्वकपको फाइनलमा न्युजिल्यान्ड अस्ट्रेलियासँग सात विकेटले पराजित भएको थियो । यसपटक न्युजिल्यान्ड र इङ्ल्यान्ड दुवैको प्रदर्शन उत्कृष्ट छ । दुवै टोलीको ब्याटिङ र बलिङ फर्ममा छ । इङ्ल्यान्डका जोय रुट कुल पाँच सय ४९ रन बनाउँदै सर्वा्धिक रन बनाउने खेलाडीको सूचीमा चौथो स्थानमा छन् । उनले दुई शतक र तीन अर्धशतक प्रहार गरिसकेका छन् । अर्का ब्याट्सम्यान जोनी बेयरस्टले पनि चार सय ९६ रन बनाएका छन् । उनले दुई शतक र दुई अर्धशतक प्रहार गरेका छन् । जासन रोयले एक शतक र चार अर्धशतकको मद्धतले चार सय २६ रन बनाएका छन् । बेन स्टोक्सले पनि चार अर्धशतक हान्दै तीन सय ८१ रन बनाएका छन् । बलिङतर्फ इङ्ल्यान्डका जोफरा आर्चरले १९, मार्क उडले १७ र क्रिस वाक्सले १३ विकेट लिइसकेका छन् ।
यसैगरी न्युजिल्यान्डका कप्तान केन विलियम्सनले पनि पाँच सय ४८ रन बनाइसकेका छन् । उनले दुई शतक र दुई अर्धशतक प्रहार गरेका छन् । रोस टेलरले पनि आठ खेलमा तीन अर्धशतकको हान्दै तीन सय ३५ रन बनाएका छन् । बलिङतर्फ न्युजिल्यान्डका लोकी फर्गुसनले १८ विकेट लिइसकेका छन् । ट्रेन्ट बल्टले पनि १७ विकेट लिएका छन् । म्याट हेनरीले १३ विकेट हात पारेका छन् । जारी विश्वकपको लिग चरणको खेलमा इङ्ल्यान्डले न्युजिल्यान्डलाई एक सय १९ रनले हराएको थियो ।
इतिहास न्युजिल्यान्डको पक्षमा
इङ्ल्यान्ड र न्युजिल्यान्डबीच यसअघि खेलिएको एकदिवसीय क्रिकेटमा न्युजिल्यान्ड केही बलियो देखिएको छ । यी दुई टोली ९० वटा एकदिवसीय खेल भएको छ । जसमा न्युजिल्यान्डले४३ खेल जितेको छ । इङ्ल्यान्डले ४१ खेल जितेको छ । दुई खेल बराबरीमा सकिएको छ भने चार खेल अर्नि्र्णित बनेको थियो । एकदिवसीय विश्वकपमा भने यी दुई टोली नौ पटक भिडेका छन् । ज्युजिल्यान्डले पाँच खेल जितेको छ भने इङ्ल्यान्ड चार खेलमा विजयी भएको छ । बास्तवमा यी र्दुइ टोलीको स्तर समान देखिन्छ ।
नयाँ विजेता निश्चित
सन् १९७५ देखि सुरु भएको विश्वकपको ११ वटा संस्करण सम्पन्न हुँदासम्म पाँचवटा देशले मात्र उपाधि जितेका छन् । अस्ट्रेलियाले पाँचपटक विश्वकप पाधि जितेको छ । वेस्ट इन्डिज र भारतले दुई दुई पटक विश्वकप जितेका छन् । पाकिस्तान र श्रीलंकाले एक एक पटक उपाधि जितेका छन् । विश्वकपको १२औं संस्करण आइपुग्दा इङ्ल्यान्ड र न्युजिल्यान्डमध्ये जसले जिते पनि विश्वकपले नयाँ विजेता पाउने निश्चित छ ।
एजेन्सी