असार २९, काठमाडौं — विगत चारदिनदेखिको निरन्तर वर्षाका कारण आएको बाढीले सप्तकोशीमा पानीको बहाव निकै नै उच्च भएको छ । गएराति ९ बजेको मापन अनुसार पानीको वहाव ३ लाख ७१ हजार ११० क्यूसेक पुगेको छ ।
कोशीमा एक लाख ५० हजार क्यूसेक पानीको बहाव हुनु लाई खतराको संकेत मानिन्छ तर शनिबार दिउसो दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव पुगेको थियो भने राती सम्म ३ लाख ७१ हजार ११० सय क्यूसेक पुगेको छ ।
यसरी पानीको सतहले सिमा नाघेपछि सप्तकोसी पुल उच्च जोखिममा परेका कारण राती १० बजे कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेको हो ।
कोशीका ३६ वटा ढोकाहरु खोलिएपछि भारतले भने विहार डुबानमा परेको भन्दै ढोका बन्द गर्न दवाव दिएको थियो । सशस्त्र प्रहरी बल भण्टावारीले दिएको जानकारी अनुसार भारतले दबाब दिएपनि ब्यारेजको भार थाम्न नसक्ने अवस्था आएकाले सबै ढोकाहरु खुल्ला गरिएका हुन् ।