असार २८, काठमाडौं — अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोमा परी यो समाचार तयार पार्दासम्म ३० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् ।
नेपाल प्रहरीका अनुसार बाढी पहिरोमा परी ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा एक–एक जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा दुई–दुई जना र काठमाडौं, खोटाङ र काभ्रेमा तिन–तिन जना तथा ललितपुरमा पाँच जना गरी ३० जनाको मृत्यु भएको हो ।
त्यसैगरी काठमाडौं, ललितपुर पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, पर्सा, धादिङमा एक–एक जना, भोजपुरमा तिन जना तथा सिन्धुलीमा चार जना गरी १८ जना वेपत्ता भएका छन् ।
साथै खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन एक–एक जना, काभ्रेमा दुई जना र मकवानपुरमा चार जना गरी १२ जना घाइते भएका हुन् ।
भक्तपुर, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली, रौतहट, पर्सा धनुषा, चितवन, उदयपुर, पाँचथर, मकवानपुर, खोटाङ, दोलखा, धनकुटा, धादिङ, ओखलढुङ्गा, सङखुवासभा, भोजपुरलगायत देशका विभिन्न स्थान प्रभावित भएका छन् ।
पूर्वी पहाडी क्षेत्रमा पहिलो र तराईका क्षेत्रमा डुबानबाट बढी प्रभावित भएको प्रहरीले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली प्रभावित क्षेत्रमा उद्धारका लागी खटिएको छ । गृह मन्त्रालयले सबै संयन्त्र प्रयोग गरेर उद्धार कार्य तीव्र पारिएको जनाएको छ ।