असार २८, काठमाडौं — लगातारको वर्षाका कारण आएको बाढीपहिरोले देशभरको जनजीवन प्रभावित बनेको छ । बाढी र पहिरोमा परी शनिवार विहानसम्म २२ जनाले ज्यान गुमाईसकेका छन् भने, ५ जना अझै बेपत्ता रहेका छन् ।
बर्षा अझै रोकिएको छैन । वर्षा अझैं दुई दिन भइरहने भन्दै जल तथा मौसम विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।
अविरल बर्षाका कारण राजधानी काठमाडौदेखि पूर्व र मध्ये क्षेत्रको जनजिवन पूर्णरुपमा प्रभावित बनेको छ । राजधानी काठमाडौ र तराई क्षेत्र डुवानमा परेका छन् भने पहाडी क्षेत्रमा पहिरो निरन्तर जान थालेको छ । डुवानका कारण ३ हजार ब्यक्ति विस्थापित भएका छन् ।
बर्षाका कारण शुक्रबारदेखि नै विपी राजमार्ग पूर्णतया ठप्प भएको छ भने पूर्वपश्चिम राजमार्ग पनि अबरुद्ध बनेको छ । रामेछाप र उदयपुर जान सडकहरुमा पनि पहिरो गएको छ । पहिरोका कारण हजारौ यात्रृहरु सडकमै अलपत्र परिरहेका छन् ।
लगातारको वर्षापछि आएको बाढीले पूर्वपश्चिम राजमार्ग अन्तरगत महोत्तरीको भब्सी खोलाको पुल बगाएको छ । पुल बगेपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुन पुगेको प्रहरीले जनाएको छ ।
अहिले बर्दिवास नगरपालिका ५ सशस्त्र प्रहरीको माइस्थान चेकपोष्टतर्फ र रातुखोलातर्फ सयौं गाडीहरु रोकिँदा हजारौं यात्रुहरु अलपत्र परेका छन् ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार कमल नदी, बागमती नदी र सप्तकोशी नदीमा जलसतह खतरा तहभन्दा माथि पुगेको छ ।
कमला नदी पनि उच्च खतराको स्थितिमा रहेको छ । त्यस्तै, बागमती नदीमा पनि जलसतह खतराको तहभन्दा माथि रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।