असार २७, काठमाडौं — बिहीबार रातिदेखि मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । हालसम्म मुलुकका विभिन्न ठाउँमा ११ जनाले ज्यान गुमाएका छन् ।
गृह मन्त्रालयको आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार तराईं र पहाडका गरी ११ जिल्ला वर्षाका कारण बढी प्रभावित छन् ।
प्रहरी केन्द्रीय कार्यालयका अनुसार तराईंका सुनसरी, महोत्तरी, रौतहट, धनुषा, चितवन तथा पहाडी जिल्ला सिन्धुली बाढीबाट प्रभावित छन् । यस्तै पाल्पा, काठमाडौं, पाँचथर, मकवानपुरका विभिन्न ठाउँमा पहिरो गएको छ ।
अविरल वर्षापछि घरको पर्खाल भत्किँदा काठमाडौंको मुलानीमा ३ जनाको मृत्यु भएको छ । मृतक एकै परिवारका रहेका छन् ।
मृत्यु हुनेहरुमा बारा घर भई कागेश्वरी नगरपालिका बस्दै आएका २३ वर्षीया नितु यादव, ३५ वर्षीया शर्मिला यादव र १० वर्षीय कुन्दन यादव रहेका छन् ।
काभ्रेको बनेपा नगरपालिका–३ नालामा घरमाथिबाट खसेको पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीया गोमा दंगाल र ७ वर्षीया सोहनी दंगाल छन् । पहिरोमा पुरिएर अन्य ३ जना घाइते भएका छन् ।
यस्तै रामेछापको रामपुरमा पहिरोले पुरिएर ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । पहिरोमा पुरिएर अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
वर्षाका कारण घरको पर्खाल भत्किँदा भोजपुरमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामप्रसाद राई गाउँपालिका–७ का ६६ वर्षीय जगतबहादुर राई रहेका प्रहरीले जनाएको छ । भोजपुरकै टेम्केमैयुङ गाउँपालिका–९ मा पहिरोले पुरिएर १४ वर्षीय बालक जनक विकको मृत्यु भएको छ । शौच गर्न गएका बेला शौचालयको माथिबाट खसेको पहिरोमा पुरिएर जनकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
वर्षाका कारण घर भत्किँदा ललितपुरको बाग्मती गाउँपालिका–२ बगुवामा १ जना बालकको मृत्यु भएको छ । घर भत्किँदा पन्चलाल जिम्बाको ११ बर्षीय छोरा सरोज जिम्बाको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
त्यसैगरी पर्सामा १० वर्षीय निखिल पटेल र मकवानपुरका ७ वर्षीया सञ्चना बलामीको मृत्यु भएको छ ।
यसैबीच कलंकीबाट एक जना बेपत्ता भएका छन् । बल्खु खोलामा बगेर आएको ग्यास सिलिण्डर समात्न बाढीमा हाम्फालेका विनोद चौधरी बेपत्ता भएको प्रहरीले जनाएको छ ।उता खोटाङमा ३ जनाको अवस्था अज्ञात छ ।