असार २६, काठमाडौं — एक महिना अघि पुनः सञ्चालनमा ल्याइएको चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाकाबाट चिनियाँ सामाग्री नेपाल भित्रन थालेका छन् । पछिल्लो एक साताबाट सुरु आयात कारोवार बिस्तारै बढ्दै गएको छ ।
२०७२ वैशाख १२ को बिनाशकारी भूकम्पपछि चार वर्ष बन्द भएको नाका गत जेठ १५ गतेबाट औपचारिक रुपमा पुनः सञ्चालनमा ल्याइएको थियो । नवनिर्मित अत्याधुनिक सुख्खा बन्दरगाह सरेको तातोपानी भन्सार पुनः सञ्चालनको झण्डै तीन साता प्रशासनिक व्यवस्थापन र आन्तरिक तयारीमा जुट्दा व्यापारिक कारोवार हुन सकेको थिएन ।
‘चीनबाट सामग्री भित्रन थालेका छन्’, भन्सार अधिकृत केशवराज ओलीले भने । भन्सारले कारोवार सुरु गरे यता बिस्तारै आयात बढ्दै गएको उनले बताए । ओलीका अनुसार यसबीचमा १० कन्टेर सामग्री भन्सार जाँचपास भई राजधानी भित्रिसकेका छन् । सुख्खा बन्दरगाह भन्सार यार्डमा अझै चार कन्टेर सामग्री जाँचपासको पर्खाइमा छन् । मंगलबार मात्र दुई कन्टेनर सामाग्री चीनबाट तातोपानी भित्रिएका छन् ।