अनियमितता गर्ने कर्मचारीमाथि कडा कार्वाही हुन्छ ः प्रधानमन्त्री

असार २५, काठमाडौं —  प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती गर्ने त्रिभुवन विश्वविद्यालयका कर्मचारीमाथि कडा कारबाही गर्ने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको ६० औं वार्षिक दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित प्राज्ञ सभामा बोल्दै उनले विश्वविद्यालय जस्तो पवित्र स्थलमा बेथिति भित्र्याउने तथा अनियमितता गर्ने कुनै पनि कर्मचारीमाथि कडा कार्वाही गरिने बताए ।

त्रिभुवन विश्वविद्यालयका कूलपति समेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा गल्ती गर्ने कर्मचारीहरुलाई सरकारले दण्ड र राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार दिने बताए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयको छवी नै धुमिल हुने गरी गल्ती नगर्न विश्वविद्यालयका पदाधिकारीहरुलाई सचेत गराए । उनले विश्वविद्यालय भित्र कल्पना गर्न नसकिने खालका बेथिति भित्रिएकोप्रति दुःख व्यक्त गरे ।