मलेसियालाई हराउदै नेपाल फाइनलमा प्रवेश

 

असार २३, काठमाडौं —  मलेसियामा जारी एसीसी  यू-१९  इस्टर्न रिजन क्रिकेटको सोमबार भएको खेलमा मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

क्वालालम्पुरस्थित किनरारा ओभलमा आयोजक मलेसियाले दिएको ८८ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

नेपालको जितमा भिम सार्कीले अविजित रहदै ३३ रन बनाए । यस्तै कप्तान रोहित कुमार पौडेलले अविजित ३१ रन बनाए । मलेसियाका हैकल मोहमद खेरले २ तथा मुहमद आमीरले १ विकेट लिए ।

यस्तै पवन सर्राफले १८ रन जोड्दा रित गौतम ३ तथा खड्क बोहोरा सुन्य रनमा आउट भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४० ओभर ५ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो ।

नेपाली बलर चम्किएको खेलमा मलेसियाका मुहमद आमिरले सर्वा्धिक २४ रन बनाए । यस्तै हैकल मोहमद खेरले १२,वान अमिरुलले ११ तथा अहमेद अकमल अलिफले १० रन बनाए ।

नेपालका सागर ढकालले ३ तथा कुशल मल्लले २ विकेट लिए ।

फाइनल खेल मंगलबार हुनेछ । उपाधि विजेता टिम  यू-१९  एसिया कपमा छनोट हुने छन् । एसिया कपमा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।
साबिकको विजेता समेत रहेको नेपालले अब फाइनलमा सिंगापुर र हङकङबीचको विजेतासँग खेल्नेछ ।