लोक सेवाको विज्ञापनमा मागभन्दा ४८ गुणा बढी आवेदन, १४ करोड राजश्व संकलन

असार १८, काठमाडौं —स्थानीय तहको पदपूर्तिको लागि गरिएको विज्ञापनमा मागभन्दा ४८ गुणा बढी आवेदन परेको छ । लोक सेवा आयोगले गत जेठ १५ गते आह्वान गरेको स्थानीय तहको विज्ञापनमा ४ लाख ४१ हजार १ सय ४१ जनाले आवेदन दिएका छन् ।
५१५ स्थानीय तहका ९ हजार १ सय ६१ पदका लागि विज्ञापन आह्वान गरेको थियो । आवेदन दिनेमा १ लाख ३ हजार ५ सय ६७ जना महिला, ४३ हजार ३ सय २० जना आदिवासी जनजाति, २४ हजार ९० जना मधेसी, ३ हजार ९१ जना दलित, १ सय ४६ जना अपांग र १ सय १६ जना पिछडिएका क्षेत्रका रहेका छन् ।
आयोगले विज्ञापन आवेदनबाट १४ करोड ४ लाख ११ हजार ५० रुपैयाँ राजस्व संकलन गरेको आयोगले बताएको छ । विज्ञापन असार १० गतेसम्म आवेदन दिने म्याद तोकिएको थियो । दोब्बर दस्तुर तिरेर थप एक हप्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । दोब्बर दस्तुरमा आवेदन गर्ने मिति मंगलबार राति १२ बजे सकिएको थियो ।