सिङ्हानीया हत्याकाण्डका आरोपीत पूर्वसांसद एवं राज्यमन्त्री साहलाई जन्मकैद

असार १८, काठमाडौं   — पूर्वसांसद एवं राज्यमन्त्री सञ्जय साहलाई जिल्ला अदालत धनुषाले मंगलबार जन्मकैदको फैसला सुनाएको छ । जनकपुरका सञ्चार उद्यमी अरुण सिङ्हानीया हत्याकाण्डको आरोपमा अदालतले सो फैसला गरेको हो ।
जिल्ला अदालत धनुषाका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले पूर्वसांसद साहसहित दुई जनालाई पनि जन्मकैदको फैसला सुनाएको छ ।

सुटर मनक लामाले सञ्जयको योजना अनुरुप आफूले सिङ्हानियाको हत्या गरेको अदालतसमक्ष बयान दिएका थिए । अदालतले हत्यामा संलग्न रहेको भन्दै उनलाई पनि जन्मकैदको सजाय सुनाइएको छ ।

यसैगरी घटनामा संलग्न रामविनोद यादवलाई तीन वर्ष, एकलाल सहनीलाई १० वर्ष, चन्द्रदीप यादवलाई १० वर्ष, पवन लामालाई १० वर्ष र मुकेश चौधरीलाई २० गरिएको हो । उता दीपेन्द्रलाई मुलतबीमा राखिएको छ भने रामकरण, ओमप्रकाश यादव र अंसी राईनले सफाइ पाएका छन् ।

पाँच जनाको ज्यान जाने गरी भएको जनकपुर बम काण्डमा साहलाइ यसअघि नै अदालतले जन्मकैदको सजाय सुनाएको थियो । सिङ्हानीया हत्याको करीब १० वर्षपछि गत १४ जेठदेखि जिल्ला अदालत धनुषामा सुनवाई शुरु भएको थियो ।