जब महिलाले सडकमै बच्चा जन्माईन्

असार १७, काठमाडौं — विराटनगरमा एक महिलाले सडकमै बच्चा जन्माएकी छन् । सुनसरीको इटहरी उपमहानगरपालिका–७ गैसारकी ३५ वर्षीया सालु सरदारले मोरङको विराटनगरस्थित सडकमै बच्चा जन्माएकी हुन् ।
विराटनगर बसपार्कमा उनले बच्चालाई जन्म दिएकी हुन् । बच्चा जन्मिएका बेला आवश्यक पर्ने कपडा किन्न भारतको जोगवनी बजार जाने क्रममा विराटनगर बसपार्क आइपुगेपछि उनलाई प्रसव पीडाले च्यापेको थियो । त्यही क्रममा उनले छोरालाई जन्म दिएकी हुन् । महिलाले खाली भूइँमै शिशु जन्माएको कुरा सुनेपछि स्थानीयले सहयोग गरेका थिए ।
सालुलाई नवजात शिशुसहित विराटनगर–११ जनपथकी सन्तोषी श्रेष्ठले प्रहरीसँग समन्वय गर्दै आफ्नो बा १६ च ३६७९ नम्बरको कारमा राखेर उपचारका लागि कोसी अस्पताल र्पुयाएकी थिईन् । प्रसव पीडाले छटपटाइरहेकी महिला सडकमै सुत्केरी भएपछि उद्दार गरेर अस्पताल र्पुयाइएको श्रेष्ठले बताएकी छन् ।