मतपत्र च्यात्नेलाई एक लाख जरिवाना

असार १७, काठमाडौं — स्थानीय तहको निर्वाचनका बेला भरतपुर महानगरपालिकाको मत गणनाको क्रममा मतपत्र च्यातेको अभियोगमा दोषी ठहर भएका दुई जनालाई एक(एक लाख जरिवाना गरिएको छ ।

जिल्ला अदालत चितवनले मतपत्र च्यात्ने द्रोण शिवाकोटी र मधु न्यौपानेलाई जरिमाना सजाय तोकेको हो । अदालतका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले मतपत्र च्यात्ने मुख्य अभियुक्तलाई सो सजाय सुनाएको हो ।
अदालतले गत जेठ ३० गते उनीहरुलाई दोषी ठहर गरिएकामा सोमबार सजाय सुनाएको हो । महानगरपालिकाको मतगणना अन्तिम हुँदै गर्दा विसं २०७४ जेठ १४ गते मध्यरातमा मतपत्र च्यातिएका थिए ।

मतपत्र च्यातिएपछि भरतपुर–१९ मा पुनः साउन २० गते मतदान भएको थियो । सो निर्वाचनमा काङ्ग्रेस र तत्कालीन माओवादी केन्द्र गठबन्धनका उम्मेदवार दाहालले तत्कालीन एमाले उम्मेदवार ज्ञवालीलाई २०३ मतले हराएर प्रमुखमा निर्वा्चित भएकी थिइन् ।

मतगणनाका क्रममा मतपत्र च्यात्ने शिवाकोटी र न्यौपानेलाई तत्कालीन समयमा रु एक÷एक लाख धरौटीमा अदालतले रिहा गरेको थियो ।

(रासस)