लुम्बिनी क्षेत्रको आसपासमा उद्योग सञ्चालन बन्द गर्न सर्वोच्चको आदेश

असार १६, काठमाडौं — सर्वोच्च अदालतले लुम्बिनी क्षेत्रको आसपास रहेका उद्योग सञ्चालन बन्द गर्न आदेश दिएको छ । अदालतले १५ किलोमिटर वरिपरि रहेका उद्योग कलकारखाना सञ्चालन नगर्न अन्तरीम आदेश दिएको हो ।

आइतबार न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासले लुम्बिनी क्षेत्र वरपर कुनै पनि उद्योग कलकारखाना सञ्चालन नगर्न अन्तरीम आदेश दिएको हो ।

जनहित संरक्षण मञ्चका अध्यक्ष प्रकाशमणी शर्माले गएको चैतमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो।
औद्योगिक प्रवर्द्धन बोर्डले लुम्बिनी क्षेत्रको १५ किलोमिटर वरपर उद्योग कलकारखाना खोल्न नपाइने भन्दै बनाएको नियमलाई उल्लंघन गरेका गोयन्का सिमेन्ट , सिद्धार्थ सिमेन्ट , कैलाश सिमेन्ट , श्रीराम सिमेन्ट, नेपाल अम्बुजा सिमेन्ट र श्याम प्लाइउडका नाममा पनि सर्वोच्चले अन्तरीम आदेश जारी गरेको हो ।