शिक्षकको कुटाइबाट धनकुटामा तीन छात्रा घाइते

असार १५, काठमाडौं — धनकुटामो जोरपाटी गाउँपालिका वडा नं २ जोरपाटीस्थित सेतोगुराँस सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक यशुन ओझाको कुटपिटबाट तीन छात्रा घाइते भएका छन् ।
प्लाष्टिकको पाइपले शिक्षक ओझाले कुटपिट गर्दा कक्षा–१० मा अध्ययनरत चन्द्रकला मगर, विभूति सुब्बा र अस्मिता मगर घाइते भएका हुन् । कक्षाकोठमा विज्ञान विषयको प्रश्न सोध्ने क्रममा उत्तर नदिएपछि ३ छात्रालाई शिक्षक ओझाले शरीरको विभिन्न भागमा जथाभावी कुटपिट गरेको पीडित छात्राहरूले बताएका छन् । कुटपिटबाट छात्राहरूको पिडुला, हात र पिठ्यूँमा नीलडाम रहेको छ ।घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ ।