कञ्चनपुरमा स्थानीय नेकपा नेतामाथि साँघातिक हमला

असार १५, काठमाडौं — नेकपा कञ्चनपुरका तीन स्थानीय नेताहरुमाथि मध्यराति साँघातिक हमला भएको छ । देखतभूलीमा शनिवार राति नेकपाका स्थानीय नेताहरु जनकराज जोशी, लक्ष्मण सिंह कार्की र देवसिंह धामीमाथि साँघातिक हमला भएको हो ।

हमलाबाट घाइते तिनै जनालाई थप उपचारको लागि भारत रिफर गरिएको छ । महाकाली अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारत रिफर गरिएको हो ।

नेपाली कांग्रेसको नेताहरुको आक्रमणबाट उनीहरु घाइते भएको नेकपा कञ्चनपुरले जनाएको छ । पूर्व प्रधान समेत रहेका कांग्रेस नेता दल बहादुर विष्टको नेतृत्वमा आएका उनीहरुले घरेलु हतियारसहित हमला गरेको नेकपा कृष्णपुरले जनाएको छ ।

हमला गर्ने समूहमा कांग्रै नेता विष्टसहित, मनोज विष्ट, मुकेश मल्ल लगायतका रहेको नेकपा कृष्णपुरका युवा नेता अर्जुन सिह साउदले जानकारी दिए । उनीहरुले एकाएक आएर जोशीको घर र पसलमा समेत तोडफोड गर्नुका साथै जोशीकी श्रीमती राजमाती जोशीलाई समेत कुटपिट गरेका छन् । घटनामा संलग्न रहेकाहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ