विप्लव समुहको नेपाल कम्युनिष्ट पार्टीका ८५ जना नेता कार्यकर्ता जेल चलान

अषाढ ६, काठमाडौ – विप्लव समुहको नेपाल कम्युनिष्ट पार्टीका ८५ जना नेता तथा कार्यकर्ताहरु जेल चलान गरिएका छन् । विध्वंसात्मक गतिविधि आरोपमा पक्राउ परेका ५ सय २ नेतारकार्यकर्तामध्ये ८५ जना जेल चलान गरिएका हुन् ।

प्रहरीले कारागारमा रहेका र अनुसन्धानपछि रिहा गरिएकाहरुविरुद्ध ४ सय ७४ वटा मुद्दा दर्ता गरेको छ । आतंककारी, विध्वंसात्मक तथा संगठीत अपराध र लुटपाटमा संलग्न रहेको अभियोगमा विप्लव समुहको नेकपामाथी २०७५ फागुन २ गतेको मन्त्रिपरिषदले प्रतिवन्ध लगाउँदै आएको छ । सोही अनुरुप उनीहरुका गतिविधि नियन्त्रण गर्न चारवटै सुरक्षा निकाय परिचालन गरिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २३ गते विप्लव नेतृत्वको नेकपालाई लुटेराको संज्ञा दिएका थिए । सरकारले त्यसको ५ दिनपछि विप्लवमाथी प्रतिवन्ध नै लगाएको थियो ।

सरकारले प्रतिवन्ध लगाएलगत्तै विप्लव सहित केन्द्र देखि स्थानीय नेता कार्यकर्ता भूमिगत भएका छन् । सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयन्त्र विशेष सुरक्षा कार्यदल उनीहरुको खोजीमा परिचालन भएका छन् ।

प्रहरीकै कारबाहीमा विप्लब समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको बिहीबार दिउँसो मृत्यु भएको थियो ।

सर्लाहीकै लालबन्दी नगरपालिका–१, चुरे क्षेत्रस्थित लखन्देही खोलामा दोहोरो भिडन्तमा उनको मृत्यु भएको प्रहरीले दावी गरेको छ । यस अघि भोजपुरमा प्रहरी कारवाहीमा पनि एक कार्यकर्ताको मृत्यु भएको थियो ।