महानगरको योजना आयोगका ५ सदस्यले लिए सफथ

जेठ ३०, काठमाडौं — काठमाडौं महानगरपालिकाले सहरी योजना आयोग गठन गरेको छ । ९ सदस्य रहने आयोगमा बिहीबार महानगरले ५ सदस्य नियुक्त गरेको हो ।

महानगरपालिका सहरी योजना आयोग ऐन, २०७५ को व्यवस्था बमोजिम नियुक्त हुने ५ सदस्यमा शिक्षा, स्वास्थ्य र समुदायतर्फ गुजेश्वरी श्रेष्ठ, व्यवस्थापन प्रशासनतर्फ मनराजा रञ्जित, सहरी योजनातर्फ कृतिकुसुम जोशी, संस्कृति, सम्पदा तथा पर्यटनतर्फ प्रा. डा. त्रिरत्न बज्राचार्य, प्राबिधिकतर्फ इञ्जिनियर सजिब श्रेष्ठ रहेको जनाएको छ ।

गत जेठ १२ गते बसेको कार्यपालिकाको बैठकले सरोज बस्नेतलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । आयोगका पदाधिकारीका रुपमा नियुक्त उपाध्यक्ष सहित सदस्यहरुलाई बिहीबार आयोगका अध्यक्ष समेत रहेका महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भयो ।