जेठ २९, काठमाडौं — धादिङको सिस्नेखोलादेखि काठमाडौंको सतुंगल जोड्ने नागढुंगा सुरुङमार्ग निर्माणका लागि जापानी कम्पनी हाज्मारआन्दो जेभीलाई जिम्मा दिइएने भएको छ ।
यही असारभरीमा कम्पनीसँग ठेक्का सम्झौता गरी असोजदेखी काम सुरु गर्ने सडक विभागले तयारी गरेको हो । उक्त सुरुङमार्ग निर्माणको ठेक्काका लागि प्रतिस्पर्धामा रहेका एक जापानी र ५ चिनियाँ कम्पनीबाट जापानी कम्पनी छनोटमा परेको छ ।
जापानी कम्पनी हाज्मासँग वार्तामार्फत उसको प्रस्तावभन्दा ७० करोड कममा सुरुङमार्गको ठेक्का दिने सहमति गरिएको सडक विभागले जनाएको छ ।
हाजमा नेपालमा राम्रो काम गर्नेे जापानी कम्पनीको रुपमा लिइएकोे छ । काटेश्वर(सूर्य्विनायक खण्डलाई ८ लेनमा विस्तार गर्ने काम र बिपी राजमार्गको निर्माण कार्य हाजमा कम्पनीले नै गरेको थियो ।
टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोगविना नै यो सुरुङमार्ग निर्माण हुने भएको छ । विष्फोटक पदार्थ प्रयोग गरेरै सुरुङमार्ग निर्माण गरिने महाशाखा प्रमुख थापाले जानकारी दिए ।
यो सुरुङमार्ग निर्माणका लागि सरकारले आगामी वर्ष ६ अर्ब २७ करोड छुट्याएको छ । त्यसका लागि जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता गरिसकेको छ ।
नौबीसेदेखि थानकोटसडक खण्डको ट्राफिक जाम न्युनीकरण गर्ने भन्दै सरकारले यस्तो योजना अघि सारेको हो । उक्त २.३५ किलोमिटर लम्बाइको सुरुङमार्ग निर्माण भएपछि भने २० मिनेटमा काठमाडौं प्रवेश गर्न सकिने सडक विभागको दाबी रहेको छ ।