जेठ ६ काठमाडौ —सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मिडिया काउन्सिल विधेयक संशोधन गर्न सकिने बताएका छन् । पार्टी नकट अगुवा पत्रकारसँग पार्टी कार्यालय धुम्बाराहीमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री बाँस्कोटाले विधेयकमा रहेको दण्ड जरिवाना लगायत विषय संशोधन गरेर जान सकिने धारणा राखेका हुन् ।
‘मिडिया काउन्सिल विधेयक अध्ययन गरेर नै ल्याइएको छ, तत्कालीन प्रेस चौतारीले उठाएका विषय समेटिएको छ । विधेयकको मस्यौदा पत्रकार महासंघका अध्यक्ष, संघ÷संगठनका अध्यक्ष पनि समेटिएको कार्यदलले नै बनाएको हो । त्यही अनुसार आएको छ’, उनले भने, ‘दण्ड जरिवानाको विषयमा सच्याएर जान सकिन्छ, तपाईंहरूको सुझाव पाऊँ ।’
नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, स्थायी समिति सदस्यहरू पम्फा भुषाल र योगेश भट्टराईसमेत उपस्थित कार्यक्रममा नेकपानिकट प्रेस संगठनका अध्यक्ष महेश्वर दाहाल, चौतारीका पूर्वअध्यक्षहरू शम्भु श्रेष्ठ, प्रमोद दाहाल, गगन विष्ट लगायत उपस्थिति थियो ।