एक शताब्दीमा ललितपुरका संस्कृतिविद् सत्यमोहन जोशी

वैशाख ३०, काठमाडौं– ललितपुर महानगरपालिकाले संस्कृतिविद् सत्यमोहन जोशी एक शताव्दीमा पाईला टेकेको अवसरमा सम्मान स्वरुप सार्वजनिक बिदाको घोषणा गरेको छ ।
उनी आज सोमबार दिउँसोबाट उमेरले १०० वर्ष पुगेका हुन् ।

संस्कृतिविद जोशीको सम्मानस्वरुप स्थानीय सरकारको अधिकार प्रयोग गरी महानगरपालिका अन्तर्गतका सबै कार्यालयहरु सोमबार विदा गरिएका छन् ।

महानगरपालिकाले जोशीको सम्मानमा सोमबार बिहान मंगलबजारबाट बाजागाजासहित नगर परिक्रमा गराइ पुल्चोकमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
महानगरपालिकाले रक्तदान तथा दीपावली कार्यक्रम गरी आजै महानगरपालिकाभित्र स्थायी बसोवास गर्ने १०० वर्ष पूरा गरेका अन्य जेष्ठ नागरिकहरुलाई पनि सम्मान गर्ने तयारी गरेको छ ।

महानगरपालिकाले जोशीको जन्म शताब्धी विभिन्न कार्यक्रम गरेर वर्षभरि मनाउने निर्णय पनि गरेको छ ।
सेतो चैत्य पुस्तक अंग्रेजीमा प्रकाशन गर्ने, चारुमति पुस्तक नेपालीमा प्रकाशन गर्ने, जोशीको तस्वीर अंकित व्यानर सगरमाथामा फहराउने, तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्न पहल गर्ने तथा जोशीलाई गोसाइकुण्ड दर्शन गराउने र उनको विशेष स्मारिका पुस्तक प्रकाशन गर्ने महानागरको योजना रहेको छ ।