बैशाख २७, काठमाडौं — इन्टरनेट तथा टीभी सेवा प्रदायक समन्वय समितिले देशभर इन्टरनेट र टेलिभिजन सेवा अवरुद्ध गर्ने चेतावनी दिएको छ ।
नेपाल विद्युत प्राधिकरणले हालै पूर्वाधार प्रयोग बापतको शुल्क वृद्धि गरेपछि तिर्न नसकिने भन्दै व्यवसायीले अडान लिएका कारण सेवा अवरुद्ध हुने अवस्था आएको हो । सेवा अवरुद्ध हुने अवस्था आएमा त्यसको जिम्मा सरकारले नै लिनुपर्ने समनवय समितिको जिकिर रहेको छ ।
समन्वय समितिमा नेपाल केबल टेलिभिजन महासंघ, इन्टरनेट सेवा प्रदायक संघ (इस्पान) र डिस मिडिया नेटवर्क रहेका छन् । उनीहरुले प्राधिकरणले लिने शुल्क बृद्धिमा सहमत भएर सम्झौता नगर्ने बताएका छन् । एनसेल र टेलिकम भने प्राधिकरणको नयाँ शुल्क तिर्न सहमति गरिसकेका छन् ।
प्राधिकरणले भने बढेको शुल्क नतिर्ने सेवा प्रदायकहरुको तार काटिने जनाएको छ । यता समितिका संयोजक दिनेश सुवेदी राज्यले इन्टरनेट र टेलिभिजन सेवा प्रदायकलाई मार पर्ने गरी शुल्क वृदि गरेको बताए ।