वैशाख२४, काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको फाइनलका लागि चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुने भएको छ ।
मंगलबार राति ७ बजेर ४५ मिनेटमा सुरु हुने प्लेअफको पहिलो क्वालिफायर राउण्डमा चेन्नाईले जित गर्ने लक्ष्य लिएको छ । यता, मुम्बई पनि चेन्नाईलाई हराउदै फाइनलमा पुग्ने लक्ष्य लिएको छ ।
आईपीएलमा मुम्बई लिग चरणको विजेता बन्दै प्लेअफको पहिलो क्वालिफायर राउण्डमा प्रवेश गरेको हो । मुम्बईले १४ खेलमा ९ खेलमा जित र पाँच खेलमा हार ब्यहोर्दै १८ अंक बनाएर लिगको शीर्ष स्थानमा रह्यो ।
यता, साविक विजेता चेन्नाईले पनि ९ खेलमा जित र पाँच खेलमा हार ब्यहोर्दै १८ नै अंक बनायो । तर नेट रनरेटको आधारमा पछि पर्दै चेन्नाई लिगको दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा प्रवेश र्गयो ।
तुलनात्मक रुपमा जारी आईपीएलमा चेन्नाई भन्दा मुम्बई बलियो ठहरिएको छ । मुम्बईले चेन्नाई विरुद्धको लिग चरणको दुबै खेलमा सहज जित निकालेको थियो । यसैलाई निरन्तरता दिने लक्ष्यमा मुम्बई रहेको छ । तर चेन्नाई भने लिग चरणमा ब्यहोरेको दुबै खेलको हारको बदला आज लिने दाउमा छ ।
लिग चरणको पहिलो होम खेलमा मुम्बईले चेन्नाईलाई ३७ रनले पराजित गरेको थियो । अवे खेलमा पनि मुम्बईले चेन्नाईलाई ४६ रनले पराजित गरेको थियो ।
आजको खेलबाट विजेता टिम फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टिमले इलिमिनेटर राउण्डबाट विजेता बनेर आएको टिमसँग दोस्रो क्वालिफायरमा फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । इलिमिनेटर राउण्डमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ ।
Source: onlinekhabr