वैशाख २१, काठमाडौं – संसारको सबैभन्दा पवित्र नाता, आमा, संसारको सबैभन्दा पवित्र सम्बोधन, आमा, यही आमाको मुख हेर्ने दिन हो आज । वैशाख कृष्णपक्षको औंसी अर्थात मातातीर्थ औंसी । शास्त्रहरुमा पनि आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ ।
श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आमाबाटशुभ आशिर्वाद ग्रहण गर्ने चलन रहेको छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो ।
बिहान सबेरै उठी स्नान गरी आमालाई उपहार प्रदानगर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने गरिन्छ । आज आमाबाट टाढा रहेका सन्तानहरु आमालाई भेट्न पुग्छन् । आमालाई मीठा खानेकुरा खुवाउँछन् ।
पौराणीक कालदेखिनै मनाउदै आएको यस आमाको मुख हेर्ने दिन आमाले गरेका महान र कष्टपूर्ण कामहरुको सम्झना गरिन्छ । आमा नभएकाहरूले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै आज श्राद्धतर्पण गरी मातृत्वको स्मरण गर्दछन् ।
आज काठमाडौं उपत्यकाका नेवार समुदायले भने भक्तपुरको हनुमानघाट पुगी आमाको सम्झनामा परम्परा अनुसार श्राद्ध तर्पण गर्दछन् ।
मातातीर्थ औंसीका दिन काठमाडौंको थानकोट नजिकै अवस्थित मातातीर्थमा धुमधामका साथ मेला लाग्ने गर्दछ । तिर्थाटनमा सहभागीहरुले मातातीर्थ कुण्डमा स्नान गर्दछन् ।