विभिन्न मन्त्रालय तथा प्रदेश मन्त्रालयका सचिवहरु सरुवा

वैशाख ५, काठमाडौं — विभिन्न मन्त्रालय सचिव र प्रदेश मन्त्रालयका सचिवहरु सरुवा भएका छन् । सरकारको वैशाख २ गते बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको सरुवा तथा पदस्थापन गरेको हो ।

राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव हरिप्रसाद बस्याललाई विशिष्ट श्रेणीमा बढुवा गरी प्रदेश नं ४ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवमा पदस्थापना गरिएको छ ।

केवल भण्डारीलाई कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिवमा र स्वास्थ्य मन्त्रालयका सचिव चन्द्र घिमिरेलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिवमा पदस्थापन गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रामप्रसाद थपलिया स्वास्थ्य मन्त्रालयमा सरुवा भएका छने भने प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव केदार न्यौपाने काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापन भएका छन् ।

त्यसैगरी काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव कोइराला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेका छन् । मन्त्रालयका सहसचिव सुरेश अधिकारीलाई प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कायम मुकायम प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।

अतिरिक्त समूहमा रहेका सचिव डा. हरि पौडेल र राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिवमा पुगेका छन् ।