वैशाख ५, काठमाडौं — शान्ति स्थापनार्थ सुडानको डार्फरस्थित युनामिड मिसन १६औं समूहमा जाने प्रहरी कर्मचारीहरुलाई विदाई गरिएको छ ।
बिहीबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संयुक्त राष्ट्रसंघको अनुरोधमा उक्त प्रहरी कर्मचारीहरुलाई प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच बिदाई गरेको हो ।
बिदाई समारोहमा प्रहरी महानिरीक्षक खनालले उक्त टोलीका कन्टिनजेन्ट कमाण्डर प्रहरी वरिष्ठ उपरीक्षक मिरा चौधरीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरेका थिए । साथै विदाईमा खटिएका प्रहरी कर्मचारीहरुको निरीक्षण समेत गरिएको थियो ।
प्रहरी महानिरीक्षक खनालले मिसनमा रहँदा उच्च अनुशासनमा रही आफ्नो ज्ञान, सीप एवम् कौशलको पूर्ण सदुपयोग गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्न आगह गरे ।
शान्ति स्थापनार्थ सुडानको डार्फरस्थित युनामिड मिसन १६औं समूहमा खटि जाने टोलीमा प्रहरी वरिष्ठ उपरीक्षक १, प्रहरी नायव उपरीक्षक ९, प्रहरी निरीक्षक ३, प्रहरी नायव निरीक्षक ३२, प्रहरी सहायक निरीक्षक ४८, प्रहरी हवल्दार ७६, प्रहरी जवान ५ र प्रहरी कार्यालय सहयोगी ६ जना गरी जम्मा १ सय ८० जना रहेका छन् ।
उक्त मिसनमा खटिएका प्रहरी कर्मचारीहरु बैशाख ९ र १६ गते प्रस्थान गर्नेछन् ।