वैशाख ५, काठमाडौं — देशका विभिन्न भागमा बम तथा शंकास्पद वस्तु भेटिएको खवर आएको छ ।
काभ्रेको पनौती(७, खोपासी जाने बाटोमा भेटिएको शंकास्पद वस्तु प्रहरीले निस्क्रिय वनाएको छ, भने पाल्पाको रिव्दीकोट गाउँपालिकामा बम विष्फोट भएको खबर आएको हो । जिल्लाको रिब्दीकोट गाउँपालिका कार्यालय भवनमा बम विस्फोट हुँदा भवनमा क्षति पुगेको छ ।
त्यसैगरी रुपन्देहीको कोटिहवा(बाउन्नकोटी सडकमा पनि शंकास्पद वस्तु फेला परेको छ । बम आशंका गरिएको उक्त शंकास्पद वस्तुलाई निष्कृय पार्न नेपाली सेनाको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।
उता बाग्लुङ नगरपालिका ३ मा पनि पाइप बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको छ ।
त्यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका ८ नं. वडा कार्यालय अगाडि प्लाष्टिकमा राखिएको कुकरमा बम लेखिएको शंकास्पद वस्तु भेटिएको र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थले पुगेको छ ।
यसैविच मकवानपुरका थाहा नगर र भिमफेदी गाउँपालिकामा दुई सवारी साधनमा आगजनी समेत भएको छ ।
कैलालीका बिभिन्न स्थानमा पनि बमजस्तो शंकास्पद बस्तु भेटिएको छ । बम डिस्पोजल टोलीलाई खबर गरिएको प्रहरीले जनाएको छ ।
बाँकेको कोहलपुर, मोरङको बेलगाछी, अर्घाखाँचीको सन्धिखर्कमा पनि शंकास्पद वस्तु भेटिएका छन् । विभिन्न स्थानमा बम तथा शंकास्पद वस्तु भेटिएपछि जनजिवन प्रभावित हुन पुगेको छ ।