बालुवाटारस्थित सरकारी स्वामित्वको जग्गा आधा दर्जन व्यापारी घरानालाई विक्री गरिएको खुलासा

वैशाख ५, काठमाडौं — बालुवाटारस्थित सरकारी स्वामित्वको ललितानिवास जग्गा कब्जा गरी भूमाफियाले आधा दर्जन व्यापारिक घरानालाई बिक्री गरेको खुलासा भएको छ ।

तत्कालीन भोगाधिकारी, मालपोतका कर्मचारी, मन्त्री, नेता, मन्त्रालयका सचिवलगायतलाई आर्थिक प्रभावमा पारेर भूमाफियाले व्यापारिक घरानाहरु गोयल, शारडा, चाचान, केडियालगायतलाई ललितानिवासले चर्चेको सरकारी जग्गा बिक्री गरेको अनुसन्धानका क्रममा खुल्न आएको हो ।

२०६१ सालमा ललितानिवासका तत्कालीन भोगाधिकारीबाट एकैपटक खरिद गरेका भूमाफियाले केही वर्ष्भित्रै दुईतिहाइभन्दा बढी भाग बिक्री गरेका थिए । ललितानिवास हिनामिनासम्बन्धी अनुसन्धानमा संलग्न अधिकारीका अनुसार मीनबहादुर गुरुङ एक्लैले कम्पनी तथा परिवारका सदस्यका नाममा ६३ रोपनी जग्गा खरिद गरेका छन्

भाटभटेनी सुपरमार्केट सञ्चालक गुरुङ, भूमाफियाद्वय डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदी नै मुख्य योजनाकार रहेका छन् । उनीहरुले तत्कालीन भोगाधिकारीसँग २०६१ सालमा ललितानिवास परिसरको जग्गा खरिद गरेका थिए।
ललितानिवास हडप्ने मुख्य योजनाकार सुवेदी र ढकालका नाममा अहिले पनि ३० रोपनीभन्दा बढी जग्गा छ ।

मेगा कलेज सञ्चालक गोपाल खनालसहित ४ जनाले गुरुङबाटै ६० आना जग्गा प्रतिआना ७ लाखका दरले किनेको बताइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का तत्कालीन अध्यक्ष शेष घलेले गुरुङबाटै प्रतिआना ३० लाख रुपैयाँभन्दा बढी तिरेर ३ रोपनी १ आना जग्गा खरिद गरेका थिए।

एनआरएनएले ललितानिवास परिसरमै ३३ करोडभन्दा बढी खर्चेर घर बनाइकेको छ।

भाटभटेनी समूहको नाममा २२ रोपनी, गोयल समूहको नाममा २१ रोपनी शारडा समूहको ४ रोपन, चाचान समूहको ३ रोपनी केडिया समूहको ३ रोपनी
शोभाकान्त ढकाल र रामकुमार सुवेदीको २८ रोपनी गोपाल खनाल समूहको ४ रोपनी  पुरुषोत्तम पौडेलको डेढ रोपनी र अन्य २९ जनासँग बाँकी जग्गा रहेको पाईएको छ ।