चैत २८, काठमाडौं — सरकारी स्वामित्वको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गा व्यक्तिका नाममा बनाई बैंकरवित्तीय संस्थाबाट अर्बौंको ऋण लिएको एक तथ्य सार्वजनिक भएको छ ।
ललितानिवासका तत्कालीन भोग चलन गरेका रुक्मशमेर राणालगायतबाट २०६० सालमा विभिन्न व्यक्ति तथा संस्थालाई गैरकानुनी रुपमा बेचिएको उत्त जग्गा धितो राखेर बैंकरबित्तीय संस्थाबाट ऋण लिएको तथ्य खुलेको हो ।
नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड, सेन्चुरी बैंक, सानीमा बैंक, ग्लोबल आइएमई बैंक, नेपाल बैंक लिमिटेड, प्रभु बैंक, साबिकको काष्ठमण्डप डेभलपमेन्ट बैंकलगायतमा उक्त सरकारी जग्गा धितो राखेर विभिन्न व्यक्ति र संस्थाले ऋण लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धानमा यो तथ्य भेटिएको छ ।
अनुसन्धानका क्रममा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, जग्गा हडप्ने योजनाकारमध्येका रामकुमार सुवेदी र डा. शोभाकान्त ढकाल, भाटभटेनी डेभलपमेन्ट प्रालिलगायत व्यक्ति तथा संस्थाले ललितानिवासको जग्गा धितो राखेको पाईएको छ । ब्युरोका एसपी उमाप्रसाद चतुर्वेदीले ललितानिवासको जग्गा हिनामिनासम्बन्धी अनुसन्धान जारी रहेकाले बताए ।
५४ वर्षअघि सरकारले तत्कालीन भोगाधिकारीलाई आकर्षक मुआब्जा दिएर ६ वटा दरबार र तिनले कमाई गरेको जग्गा पनि अधिग्रहण गरेको खुल्न आएको छ ।
नेपाल गजेटमा प्रकाशित विवरणअनुसार जग्गा प्राप्ति ऐन २०१८ अनुसार सरकारले नक्सालको महावीर भवन (हाल प्रहरी प्रधान कार्यालय) ले चर्चेको १ सय ५४ रोपनी चार आना दुई पैसा, पुल्चोकस्थित हरिहर भवन र त्यसले चर्चेको दुई सय ४० रोपनी एक आना दुई पैसा, नक्सालस्थित सीता भवन (हालको बालमन्दिर) र त्यसले चर्चेको १ सय १९ रोपनी १२ आना ती पैसा जग्गा मुआब्जा दिएर अधिग्रहण गरिएको थियो।
त्यसैगरी महाराजगन्जस्थित लक्ष्मीनिवास (हाल भैरवनाथ गण) ले चर्चेको दुई सय ५८ रोपनी १४ आना, बालुवाटारस्थित ललितानिवास (हाल प्रधानमन्त्री निवाससहित) ले चर्चेको दुई सय ८४ रोपनी १४ आना ३ पैसा तथा बबरमहल र त्यसले चर्चेको दुई सय ४० रोपनी पाँच आना तीन पैसा जग्गा अधिग्रहण गरिएको सरकारी अभिलेखमा उल्लेख छ।