चैत२७, काठमाडौं– नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणको साँवा व्याँज तिर्न नसक्ने भएको छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट दुई न्यारो बडी र दुई वाइड बडी जहाज किन्दा लिएको ऋण ३७ अर्ब ५८ करोड रुपैयाँ को चैत्र महिनाको किस्ता तिर्न नसक्ने भएको हो ।
निगमले दुई वाइड बडीको ८० करोड ४२ लाख र दुई न्यारो बडीको ३३ करोड नौ लाख रुपैयाँ गरी एक किस्तामा एक अर्ब १३ करोड रुपैयाँ तिर्नुपर्ने हुन्छ । निगमका सहप्रवक्ता नवराज कोइरालाका अनुसार एक अर्ब १३ करोडमध्ये करिब ४४ करोड रुपैयाँ पुसमा तिरेको थियो ।
किस्ता तिर्न नसकेपछि निगमले सरकारसँग पाँच अर्ब रुपैयाँ माग गरेको छ । निगम धराशयी बन्दै गएको भन्दै यसअघि २० अर्ब रुपैयाँ उपलब्ध गराउन सरकारसँग अनुरोध गरिएको थियो।
अन्तर्रा्ष्ट्रिय उडान गर्ने दुई न्यारो बडी, दुई वाइड बडी र एक बोइङ जहाज पूर्ण रुपमा सञ्चालन नहुँदा ऋणको किस्ता तिर्न सकेको छैन । निगमले दैनिक ७० घन्टा उडान गर्न सक्ने भएपनि जहाजलाई दैनिक ३४ घन्टा मात्रै उडाइरहेको छ ।