जुगल हिमालको चुचुरोमा पहिलो पटक सफल आरोहण

चैत२७, सिन्धुपाल्चोक — काठमाडौँबाट सबैभन्दा नजिकको हिमाल जुगलको चुचुरोमा पहिलो पटक मान्छे पुगेका छन् । ६ हजार १ सय ५१ मिटर उचाइमा रहेको सिन्धुपाल्चोकको ग्याल्चेन पिकमा पहिलो पटक सफल आरोहण भएको हो ।

सगरमाथा आरोही सिन्धु चेली माया गुरुङको अगुवाईमा तीन जनाले मंगलबार साँझ ५ः२० बजे ग्याल्जेन हिमालको सफल आरोहण गरेका हुन् । आरोहण गर्नेमा गुरुङसहित जिल्लाकै मिलन लामा र सर्मिला थापाले ग्याल्जेन आरोहण रहेका छन् ।

टोली गत चैत १५ गते पहिलो आरोही समुहको रुपमा जुगलका लागि हिडेको थियो । उनीहरुलाई तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राहजधानीबाट बिदाइ गरेका थिए। आरोहीले जुगलको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा र हिमाल रहेको जुगल गाउँपालिकाको ब्यानर चुचुरोमा फहराएका छन्।

जुगल हिमशृंखलामा विभिन्न २६ हिमाल रहेकोमा ११ पिक (चुचुरा) को आरोहण अनुमति दिइएको छ। ग्याल्चेन आरोहणका लागि सबैभन्दा सजिलो मानिन्छ। साथै यो सबैभन्दा होचो समेत हो।