बालुवाटारस्थित सरकारी स्वामित्वको सम्पत्ति ललितानिवास र त्यसले कमाएको जग्गा वेचविखनमा सरकारको रोक

चैत २६, काठमाडौं — बालुवाटारस्थित सरकारी स्वामित्वको सम्पत्ति ललितानिवास र त्यसले कमाएको जग्गा बेचबिखन गर्न नपाईने भएको छ । संगठित गिरोहबाट अतिक्रमण गरिएको बालुवाटारस्थित सरकारी स्वामित्वमा रहेको सम्पत्ति ललितानिवास स्थित जग्गाको वेचविखनमा सरकारले रोक लगाएको हो ।

पूर्वप्रधानमन्त्री सुवर्णशमशेर राणाको तत्कालीन भोगाधिकारी, सरकारी कर्मचारी र भूमाफियामार्फत हडपिएको जग्गा करिब एक सय १४ रोपनी रहेको छ ।

सरकारको यो निर्णयसँगै सेटिङमा हडपेपछि माफिया, व्यापारी र तत्कालीन भोगाधिकारीले निजी सम्पत्ति बनाएको करिब ६५ कित्ता जग्गा रोक्का गरिएको भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ललितानिवासअन्तर्गत कित्ता नम्बर खुलेका सबै जग्गा–जमिन बिक्रीमा रोक लगाइएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव जनकराज जोशीले, ‘निर्देशनअनुसार नै मालपोतबाट ललितानिवासअन्तर्गत विभिन्न व्यक्तिका नाममा रहेको जग्गा रोक्का भइसकेको जानकारी गराए ।

रोक्का गरिएकोमध्येकै ६० रोपनीमा भाटभटेनी सुपरमार्केटको स्टोर र तीन रोपनी तीन आना जग्गामा गैरआवासीय नेपाली संघ (एनआरएनए)को संरचना निर्माण भइसकेको छ ।

राणा परिवार र भूमाफियाबाट भाटभटेनी र एनआरएनएले जग्गा किनेको तथ्य खुलिसकेको छ । बाँकी जग्गामा राणा परिवार, भूमाफिया तथा उनीहरूबाट जग्गा किन्नेको स्वामित्व छ ।