धरानमा बस दुर्घटना, ४ को मृत्यू २१ घाईते

चैत्र २५, सुनसरी — सुनसरीको यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । दुर्घटनामा २१ जना घाईते भएका छन् । धनकुटाको चौबिसे गाउँपालिकास्थित ६ नम्बर बुधबारेबाट धरान आउदै गरेको बस ब्रेक फेल भएर दिउँसो करिब १ बजेतिर दुर्घटना भएको हो ।

धरान १३, जिरोपोइन्टमा बस दुर्घटना हुँदा चालकसहित ४ जनाको मृत्यु भएको छ भने २ दर्जन बढी घाइते भएका छन् । घाइतेहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको छ ।

जिरोपोइन्टमा बस पल्टिएर विजुलीको पोलमा ठोक्किएको थियो। ना ६ ख २७१३ नम्बरको बस विजुलीको पोलमा ठोकिएर पल्टिएपछि अगाडिको भाग च्यापिदा घाइते चालकलाई समयमै उद्दार गर्न नसक्दा घटनास्थलमा नै ज्यान गएको प्रहरीको भनाई छ ।

मृतक ४ मध्ये चालक धरान ८ का चक्रबहादुर गुरुङको मात्र सनाखत हुन सकेको छ। अन्य मृतक यात्रुमा एक जना बच्चा, एकजना महिला र एक वृद्ध भएको इलाका प्रहरी कार्यालयका डिएसपी सुमन तिम्सिनाले बताए ।

बसमा कति यात्रु थिए भन्ने एकिन नभएपनि घाइतेहरु ३० भन्दा बढी रहेको प्रहरीको अनुमान छ । धनकुटाको चौबिसे गाउँपालिकास्थित ६ नम्बर बुधबारेबाट बस धरान आउदै गरेकोले मृतक र घाइतेहरु त्यसक्षेत्रकै बढी रहेका छन् । घाइते टंकबहादुर तुम्साका अनुसार बसमा ६ नम्बर बुधबारे, साम्मेवा, राजारानी, ओख्रे, शुक्रबारे क्षेत्रबाट यात्रुहरु चढेका थिए।