पार्टी एकीकरणको विवादमा असन्तुष्ट पक्षहरुसँग (नेकपा) अध्यक्ष द्धयको छुट्टाछुट्टै भेट

चैत२५, काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण विवादका कारण असन्तुष्ट पक्षहरुसँग अध्यक्ष द्धयले छुट्टाछुट्टै भेट गरेका छन् ।
पार्टी एकीकरण प्रक्रियामा असन्तुष्ट भएका माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमसँग प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले छुट्टाछुट्टै भेट गरेका हुन् ।

अध्यक्ष ओलीले एकीकरण प्रक्रिया टुंग्याउन जिल्ला कमिटी गठन पनि आकस्मिक रुपमा टुंगिने वताएपछि माधव कुमार नेपाल समूहले विना छलफल टुंग्याए समानन्तर जिल्ला कमिटी बनाउने चेतावनी दिएका थिए । हिजो आइतबार बिहान भएको छलफलमा सचिवालय सदस्य गौतमले एकीकरण प्रक्रिया सबै पक्षलाई मान्य हुनेगरी टुंग्याउन अध्यक्षद्वयलाई सुझाव दिएका थिए ।

दुईतिहाइ बहुमतका साथ देशको नेतृत्व गरिरहेको अवस्थामा पार्टीका समानान्तर जिल्ला कमिटी गठन भएमा पार्टी र सरकारलाई नकारात्मक असर पर्ने भएकाले अध्यक्षद्वयले सहमतिबाटै जिल्लाको नेतृत्व टुंग्याउनेगरी छलफल सुरु गरेको हो ।

पार्टी सचिवालयमा रहेका शीर्ष नेताहरूले नै आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएकोमा ‘नोट अफ डिसेन्ट’ लेखेर अध्यक्षद्वय ओली र दाहालको पार्टी सञ्चालन कार्यशैलीको बारम्बार प्रतिवाद गर्दै आएका छन् ।