चैत२५, काठमाडौं — बढी धुँवा फ्याक्ने ४६ वटा सवारी साधन एकै दिनमा कारबाहीमा परेका छन् ।
ट्राफिक प्रहरीले तीन दिनअघि सुरु गरेको ‘उपत्यकाको प्रदुषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापन सुधार कार्ययोजना’ अन्तरगत ४६ वटा सवारी साधन कारवाहीमा परेका हुन् ।
आइतबार बबरमहलमा प्रदुषण जाँचका क्रममा बढी धुँवा फ्याकेको भेटिएका ती सवारी साधानलाई कारबाही गरिएको थियो ।
महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तका अनुसार यातायात व्यवस्था विभागको दुई वटा प्रदुषण जाँच उपकरण र प्राविधिकको सहायतामा प्रदुषण जाँच गरिएको हो ।
जम्मा १ सय ५ वटा सवारी साधनमध्ये पेट्रोलबाट चल्ने ३४ र डिजेलबाट चल्ने १२ वटा सवारी साधानमा फल्ट देखिएको महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले बताए ।
कारबाहीमा परेको सवारी साधानको लाइसेन्स वा ब्लु बुक नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले धुँवा फाल्ने सवारी साधनलाई ५ सय रुपैयाँ जरिवाना पनि तिराउँदै आएको छ ।