चैत २४, सिन्धुली– नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सिन्धुलीका एक नेताले पार्टी परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालयस्थित प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालको कार्यकक्षमा उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
रामेछापको खाडादेवी गाँउपालिका वडा नं. १ राकाथुम घर भई हाल सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं. ५ रामटारमा खाडादेवी इटा उद्योग सञ्चालन गर्दै आएका प्रेमबहादुर श्रेष्ठले विप्लव परित्याग गरेको घोषणा गरे ।
नेकपा विप्लव समूहको भातृ संगठन ताम्सालिङ स्वायत्त प्रदेश उपप्रमुख रहेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले शनिबार जिल्ला प्रहरी कार्यालय ल्याएपछि उनले आफू स्वतन्त्र रहेर व्यवसाय गर्न चाहँदा चाहँदै पनि बाध्यात्मक परिस्थितिले विप्लव समूहमा लागेको र आगामी दिनमा उक्त समूहसँग आबद्ध नरहने बताए ।
इलाका प्रहरी कार्यालय खुर्कोटले गोलञ्जोर गाउँपालिका ७ खुर्कोटबाटै पक्राउ गरेपछि उनले पार्टी परित्याग गर्ने भनेर आत्मसमर्पण गरेका हुन् । आत्मसमपर्णपछि उनलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख चक्रबहादुर सिंहले बताए।