सर्वोच्च अदालतका प्रस्तावित पाँच न्यायाधीशविरुद्ध उजुरी आह्वान

चैत २२, काठमाडौं — संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित पाँच न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ । समितिको बिहीबारको प्रारम्भिक बैठकले प्रस्तावित न्यायाधीशविरुद्धमा कुनै उजुरी भएमा माग गर्ने निर्णय गरेको हो । शुक्रबारदेखि १० दिन सम्मको समयभित्र सरोकारवाला र सर्वसाधारणले उजुरी दिन सक्नेछन् ।
सरोकारवाला तथा सर्वसाधारणले प्रस्तावित न्यायाधीश उपर इमेल तथा समिति सचिवालयमा नै उपस्थित भएर उजुरी दिन सक्नेछन् । यस्तै सबै जिल्ला प्रशासन कार्यालयमार्फत पनि उजुरी दर्ता गर्न सकिनेछ ।

न्याय परिषद्ले मङ्गलबार सर्वोच्च अदालतमा पाँच न्यायाधीश सिफारिस गरेको थियो । परिषद्को निर्णय अनुसार बुधबार सुनुवाइ प्रक्रिया अगाडि बढाउन समितिमा पत्राचार भएको थियो । समितिले उजुरी आह्वान गर्दै बिहीबारदेखि नै प्रक्रिया आरम्भ गरेको हो ।