राष्ट्रियसभाद्धारा पाँच विधेयक पारित

चैत ४ काठमाडौ – राष्ट्रियसभाको सोमवारको बैठकले पाँच विधेयक सर्वसम्मतिले पारित गरेको छ।

सभाको बैठकले सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक २०७५, नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक २०७५, लेखापरीक्षण विधेयक २०७५, जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५ र विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक २०७५ सर्वसम्मतिले पारित गरेको हो ।

यसैगरी प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक २०७५ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनःपारित गरिएको छ । बैठकले उक्त विधेयक सर्वसम्मतिले पुनःपारित गरेको हो।

बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त संशोधन स्वीकार गरी पुनःपारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेको थियो ।  राष्ट्रियसभाको अर्को बैठक यही चैत ५ गते अपराह्न १ बजे बस्नेछ । रासस