लुटेरा समूहलाई चन्दा नदिन प्रधानमन्त्रीको निर्देशन

फागुन, २९ काठमाडौ —प्रधानमन्त्री केपी ओलीले लुटपाट गर्ने समूहलाई चन्दा नदिन जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । नेपाल नगरपालिका संघको २६ औं स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दे उनले भने ’लुटेराहरुले तपाईंहरुलाई धम्क्याउलान् ,चन्दा माग्लान् तर उनीहरुलाई चन्दा नदिनुहोस्’ ।
पटक पटक वार्तामा बोलाउँदा समेत नआएको भन्दै पछिल्लो समय नेत्रविक्रम चन्द नेतृत्वको नेकपाप्रति प्रधानमन्त्री आक्रोश व्यक्त गरेका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले समेत नेकपा विप्लव समूहका गतिविधि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
उनले जनप्रतिनिधिहरुलाई इमान बचाएर काम गर्नसमेत आग्रह गरे । प्रधानमन्त्री ओलीले स्थानीय तहका अधिकारका विषयमा नगरपालिका संघ, गाउँपालिका महासंघ र जिल्ला समन्वय समिति महासंघका प्रतिनिधिहरुसँग छलफल गर्ने बताए ।