फागुन २९, काठमाडौ — तत्कालीन माओवादीबाट फुटेर बनेको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पछिल्लो समय गरेका गतिविधिमा सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
विप्लव माओवादीबाट राजधानी लगायत देशका विभिन्न ठाउँमा बम विस्फोट र चन्दा आतंक बढेपछि सरकारले कडा नीति लिएको हो ।
विप्लव समूहले केही दिनअघि ललितपुरस्थित एनसेलको प्रधान कार्यालय र वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङको घरमा बम विस्फोट गरेको थियो।
त्यसयता प्रधानमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले विप्लव समूहविरूद्ध कडा अभिव्यक्ति दिँदै आएका छन्। विप्लवका कार्यकर्ता पक्राउ पर्ने क्रम पनि बढेको छ ।