ट्राफिक प्रहरीलाई ३५ प्रतिशत भत्ताको प्रस्ताव

फागुन २७, काठमाडौ — ट्राफिक प्रहरीलाई गृह मन्त्रालयले अतिरिक्त भत्ताको प्रस्ताव गरेको छ । सडकमा दैनिक १५ घन्टासम्म खटिने उनीहरूलाई ३५ प्रतिशतसम्म प्रोत्साहन भत्ताको प्रस्ताव अघि बढाइएको गृह मन्त्रालयले जनाएको छ ।

गृहले भत्तासम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको छ । गृहको प्रस्तावअनुसार डिएसपीसम्मका प्रहरीले प्रोत्साहन भत्ता पाउनेछन् । डिएसपीलाई बेसिक तलबको १० प्रतिशत, इन्स्पेक्टरलाई २०, सइ, असइलाई २५ तथा हवल्दार, सिपाही र कार्यालय सहयोगीलाई ३५ प्रतिशत भत्ता दिने प्रस्ताव गरिएको छ ।

सरकारले हालै विभिन्न निकायलाई शतप्रतिशतसम्म भत्ता दिने निर्णय गरिसकेको छ । विगतमा ट्राफिक प्रहरीले पनि भत्ता पाउने र भत्ताका कारण जथाभावी कारबाही गरेको विवाद आएपछि साउनदेखि कटौती गरिएको थियो । माघ महिनादेखि फेरि भत्ता दिन थालिएको थियो ।