टीकापुर घटनाको फैसला आज हुदै, के होला रेशम चौधरीको सांसद पद ?

फागुन २२, काठमाडौ — टीकापुर घटनाको फैसला आज हुने भएको छ । घटनाको ४२ महिनापछि आज फैसला हुने भएको हो । मंगलबार बहस सकिएपछि आज मुद्दाको फैसला हुन लागेको हो । गत २०७२ भदौ ७ गते थरुहट आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा ८ प्रहरीसहित १ नाबालक गरी ९ जनाको हत्या गरिएको थियो ।

घट्नामा संघीय सांसद सांसद रेशमलाल चौधरीसहित पुर्पक्षका लागि कारागारमा रहेका अन्य २६ जनाको फैसला हुन लागेको हो ।
यो घटना घटाएको अभियोगमा ५८ जना विरुद्ध डाँका चोरी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर भएको छ । ५८ जनामध्ये सांसद रेशम चौधरी, थारु नेता लक्ष्मण थारु, लाहुराम चौधरी सहित २७ जना हाल पुर्पक्षको लागि थुनामा छन् । बाँकी प्रतिवादीहरु फरार छन् ।

फैसला चौधरीको पक्षमा आए उनलाई संसद भवन प्रवेश गर्ने बाटो खुल्नेछ । सांसद् चौधरी मुद्दाकै कारण अहिले थुनामा छन् । अदालतले सफाइ दिए उनी थुनामुक्त हुनेछन् । तर, दोषी ठहर गरेमा प्रतिनिधिसभाको यात्रा अवरुद्ध हुनेछ ।