गृहमन्त्री सहित ८ मन्त्री कार्ययोजनामा फेल

फागुन २२ काठमाडौ — कार्यसम्पाद मूल्यांकनमा दुइ उपप्रधानसहित ९ मन्त्रीको प्रदर्शन निकै कमजोर पाइएको छ । अर्थ, परराष्ट्र, श्रम लगायत सीमित मन्त्रालयको नेतृत्वले मात्र सन्तोषजनक काम गरेको देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले एप्समार्फत गरेको अनुगमनले केही मन्त्रीलाइ त कामै नगर्ने सूचीमा देखाएको छ ।

साउनदेखि माघसम्मको मूल्यांकनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कार्यसम्पादनमा सबैभन्दा कमजोर देखिएका छन् । त्यसैगरी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको प्रगति विवरण पनि निकै कमजोर छ । त्यसैगरी भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, खानेपानीमन्त्री बीना मगर, उद्योगमन्त्री मात्रिका यादव र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पनि योजनाअनुसार काम गर्न नसकेको अनुगमनले देखाएको छ । गृहमन्त्री रामबहादुर थापा र उर्जामन्त्री वर्षमान पुन पनि काम गर्न असफल देखिएका छन् ।

प्रधानमन्त्री ओलीले नतिजा व्यवस्थापन महाशाखा खडा गरी मन्त्रालयका कामको मूल्यांकन अनलाइनमार्फत गर्न थालेपछि यो नतिजा देखिएको हो । मन्त्रीहरूले नै पेस गरेको कार्ययोजनाअनुसार काम पूरा भएमा हरियो रंग, काम सुरू भए पहेंलो र सुरु नै नभएका कामलाई रातो चिन्ह दिइएको छ ।

सञ्चारमन्त्री गोकुल बाँस्कोटा र खेलकुदमन्त्री जगत विश्वकर्माले योजना अघि बढाएका तर सफलता नपाइसकेकाले प्रगति विवरणमा पहेंलो रङ पोतिएको छ । कृषिमन्त्री चक्रपाणि खनालको प्रगति विवरणमा पनि पहेंलो नै धेरै छ ।