विवेकशील साझा पार्टीका कार्यकर्ताहरु प्रहरीको नियन्त्रमा

फागुन ८, काठमाडौं – प्रहरीले विवेकशील साझा पार्टीका कार्यकर्ताहरुलाई नियन्त्रमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय, नक्साल अगाडिबाट धर्ना कार्यक्रम गरिरहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

‘ठूलो माछा कता छन् ? सिंहदरबार जता छन्’, ‘अख्तियारको बल्छी, साना माछा मात्रै पर्ने’ लगायतका नारा लेखिएका प्लेकार्डसहित विवेकशील साझाले बुधबार विहान बढ्दो भ्रष्टाचार तथा बेथितिको छानबिनका माग गर्दै अख्तियार अगाडि धर्ना दिएको थियो ।

३० भन्दा बढी नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको विवेकशील साझाले जनाएको छ ।

पार्टी संयोजक रवीन्द्र मिश्रका अनुसार, पक्राउ पर्नेमा पार्टीकी प्रदेश ३ संयोजक समीक्षा बास्कोटासहित केन्द्रीय सदस्य मानवी पौडेल, काठमाडौं जिल्ला संयोजक अनुपा श्रेष्ठ लगायत छन् ।

अख्तियार अगाडि धर्ना तथा नारावाजी गरेर वाधा पुर्याएको भन्दै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । तर, विवेकशीलले आफूहरुले कुनै अवरोध नगर्दा नगर्दै पनि शान्तिपूर्ण प्रदर्शनबाट वञ्चित गरेको आरोप लगाएको छ ।

प्रहरीको नियन्त्रणमा परेकाहरु महेन्द्र पुलिस क्लबमा छन् ।